कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट सिंचाई योजनाको निर्माण एकसाथ सुरु गरिएको छ । योजनाको कार्य सम्पन्न आगामी असोज महिनाको अन्तिम सातामा हुने खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोट प्रमुख ज्वालाराज शाहीले जानकारी दिएका छन् । निर्माण कार्य सम्पन्न भएपछि उक्त सिंचाई योजनाबाट झण्डै ११० हेक्टर भन्दा बढि जमिनलाई सिंचाई पुग्ने कार्यालय प्रमुख शाहीको बताएका छन् ।
भेरी नदीको पानीलाई पम्पिङ्ग गरेर कुदुमा ल्याउन लागिएको सिंचाई योजनाको बजेट संघीय सरकारको अनुदान रहेको छ । भ्याट बाहेक ८९ लाख लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यालयसंग सम्झौता गरेको गौतम निर्माण सेवाले कुदु लिप्ट सिंचाई योजनाको एरिया, १ को काम गरीरहेको छ भने, भ्याट बाहेक १ करोड ३ लाख लागतमा निर्माण कार्य सम्पन्न गर्नेगरी कार्यालयसंग सम्झौता गरेको विजयश्वरी निर्माण सेवाले एरिया, २ को काम गरिरहेको छ । त्यसैगरी भ्याट बाहेक ९० लाख लागतमा निर्माण कार्य सम्पन्न गर्नेगरी कार्यालयसंग सम्झौता गरेको नविन निर्माण सेवाले एरिया, ३ को काम गरिरहेको छ ।
कुदु लिप्ट सिंचाई योजनाको एरिया १ को भेरी नदीदेखि कुदुसम्मको लम्बाई १ हजार ६५ मिटर रहेको छ भने, उचाई १३० मिटर रहेको छ । योजनाको एरिया १ मा प्रयोग गरिएको सेन्ट्रीफुगल पम्पको क्षमता ६० हर्ष पावर रहेको छ । ८९ लाख लागत रहेको योजनाले २–२ सय घनमिटरका २ वटा रिजर्भ टंकी निर्माण गरिएको छ । उक्त योजनाले सिंचित गर्ने जग्गाको क्षेत्रफल ३५ हेक्टर रहेको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका ईन्जिनियर सर्जन वुढाक्षेत्रीले जानकारी दिएका छन् । गौतम निर्माण सेवाका प्रोपराईटर टेक बहादुर रोकाय रहेका छन् ।
भेरी नदीदेखि कुदुसम्म एरिया, २ को लम्बाई ८०० मिटर रहेको छ भने, ११० मिटर उचाई रहेको छ । लिप्ट सिंचाई योजनामा प्रयोग गरिएको सवमर्जिवल पम्पको क्षमता ४० हर्षपावर रहेको छ । भ्याट बाहेक एक करोड ३ लाख लागत रहेको एरिया, २ को सिंचाई योजनाको एउटा २५० र अर्को ३२० घनमिटरका दुई वटा रिजर्भ टंकी निर्माण गरिएको छ । उक्त योजनाले ३५ हेक्टर जमिनलाई सिंचाई गर्ने ईन्जिनियर बुढा क्षेत्रीले जानकारी दिएका छन् । विजयश्वरी निर्माण सेवाका प्रोपराईटर बुद्धी कुमारी श्रेष्ठ रहेकी छन् ।
त्यसैगरी कुदु लिप्ट सिंचाई योजना एरिया, ३ नदीदेखि कुदुसम्मको लम्बाई १ हजार २०० मिटर रहेको छ भने, उचाई ११० मिटर रहेको छ । उक्त लिप्ट सिंचाई योजनामा प्रयोग गरिएको सवमर्जिवल पम्पको क्षमता ४० हर्षपावर रहेको छ । ३–३ सय घनमिटर स्टोर क्षमता रहेका दुई वटा रिजर्भ टंकी निर्माण गरिएको योजनाको एरिया ३ ले ४० हेक्टर जमिनलाई सिचाई गर्ने ईन्जिनियर बुढाक्षेत्रीले बताएका छन् । भ्याट बाहेक ९० लाख लागत रहेको लिप्ट सिंचाई योजना एरिया, ३ को निर्माण कार्य गरिरहेको नविन निर्माण सेवाको प्रोपराईटर अम्बिका आचार्य रहेकी छन् । तीन वटै योजनाका निर्माण कार्य सुरु गरेका कम्पनीका प्रोपराईटर स्थानीय कुदुबासी नै रहेका छन् ।
लामो समयदेखि शुख्खा, खडेरीले पिउने पानीको समस्यालाई झेल्दै आएको कुदुमा तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य सम्पन्न भए पश्चात कुदुमा प्रयाप्त सिंचाई गर्नलाई पानी पुग्ने कार्यालयले दावी गरेको छ । ११० हेक्टर जमिनमा भेरीको पानीबाट प्रयाप्त सिंचाई पुर्याउन सकिएमा कुदुको जमिनलाई खाद्यन्न उत्पादनमा प्रयोग गर्न सकिने भएको छ । भेरीको पानीले सिंचाई गरेर कुदुमा धान, गहुँ लगाएतको अन्नबाली र व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिनेमा कुदुबासी ढुक्क देखिन थालेका छन् ।
कुदुको विशाल फाँटलाई अन्न उत्पादनमा प्रयोग गर्न सकिएमा जाजरकोट जिल्लामा पैदा हुने खाद्य संकट तथा अभावको समस्यालाई समाधान गर्न सकिने सरोकारवाला निकायहरुले बताउन थालेका छन् । लामो समयको प्रतिक्षापछि कुदुको विशाल फाँटलाई सिंचित गर्नेगरी निर्माण सुरु गरिएका तीन वटा कुदु लिप्ट सिंचाई योजनालाई दिगोपन दिनुको साथै गुणस्तरीयता कायम गर्न नियमित रुपमा योजनाको अनुगमन तथा मुल्याङ्कण गर्ने गरिएको छ । तीन वटै कुदु लिप्ट सिंचाई योजनाको स्थलगत अनुगमन गर्न जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक विसी, चित्र प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद जैसी लगाएत कार्यालयको टोली सुक्रबार कुदु पुगेको थियो । अनुगमनको क्रममा लिप्ट सिंचाई योजनालाई समुदायमैत्री बनाउनु पर्ने टोलीले सुझाव दिएको थियो । तीन वटै योजनाको निर्माण कार्य सम्पन्न पश्चात सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण र जनलेखा परीक्षणलाई व्यवस्थित गर्र्नुको साथै खर्चको फाँटवारीलाई व्यस्थित गर्न सुजाएका थिए ।
पम्पिङ्ग शिष्टमबाट संचालित लिप्ट सिंचाई आयोजनालाई समुदाय तथा उपभोक्ताहरुले नियमित रुपमा संचालन गर्न कार्यालयले समुदायका निश्चित व्यक्तिलाई अप्रेटिङ्ग तालिम दिनुपर्ने स्थानीयले माग राखेका थिए ।