Hamro Sanchar

विद्युत प्राधिकरणको सेवा प्रवाहका बिषयमा वडा अध्यक्षले गरे पत्रकार सम्मेलन

वडाअध्यक्षले उठाएका बिषयमा कुनै सत्यता नभएको जाजरकोट बितरण केन्द्र प्रमुखको भनाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/२१ गते
जाजरकोट

नेपाल विद्युत प्राविकरण जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाको बिषयमा भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले पत्रकार सम्मेलन गरेका छन् । जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाका बिषयमा उपभोक्ताहरुले व्यक्त गरेका गुनासाहरुलाई सम्बोधन गर्न वडा अध्यक्ष शर्माले सोमबार खलंगामा पत्रकार सम्मेलन गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै वडाअध्यक्ष शर्माले विद्युत प्राधिकरणबाट प्रवाह गरिने सेवाका बिषयमा उपभोक्ताहरुले वडा कार्यालयमा लेखित रुपमा व्यक्त गरेका गुनासोहरुको सुनाई गर्न आफु लागि परेको भनाई राखेका थिए । अध्यक्ष शर्माले उपभोक्ताहरुको गुनासो सम्बोधन गर्न आफुले लिखित रुपमा नेपाल विद्युत्त प्राधिकरण जाजरकोट वितरण केन्द्र, जिल्ला प्रशासन कार्यालय, जाजरकोट र प्रतिनीधि सभा सदस्य तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतलाई आधिकारिक रुपमा पत्र लेखेर पठाई सकेको जानकारी दिएका थिए । जनताले लेखित रुपमा राखेका समस्यालाई वडा कार्यालयको लेटरप्याडमा उल्लेख गरेर पढाउदा पनि जाजरकोट वितरण केन्द्रले बेवास्था गरेको अध्यक्ष शर्माले बताएका थिए । वडा कार्यालयले लेखेको पत्रको वितरण केन्द्रले नत लेखित जवाफ दिएको छ, नत समस्या नै समाधान गरेको छ अध्यक्ष शर्माले भने–‘सुर्खेत र दैलेख जिल्लाको विद्युत लोडलाई आपूर्ति गर्न वेला–वेलामा रामघाट सव–स्टेशनबाट जाजरकोटको लाईन काट्ने काम भईरहेको छ, मिटर रिडिङ्क नगरेर अनुमानका आधारमा विद्युत महशुल उठाउने गरेको, मिटरको महशुल लिई सकेपनि झण्डै ५०० घरमा मिटर जडान गर्ने काम नभएको, मिटर जडान गर्दा कानुन भन्दा बाहिर गएर प्रति मिटर ५०० शुल्क उठाउने गरेको, विद्युत मशुलमा ५ प्रतिशत हरजना लगाउने गरेको गुनासाहरु आएका छन् ।’

सेवाग्राहीले शुल्क तिरी सक्दा पनि जाजरकोट वितरण केन्द्रले टासफर्म जडान गर्न नसकेको वडाअध्यक्ष शर्माले पत्रकार सम्मेलनमा भनाई राखेका थिए । नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रको सेवाबाट सेवाग्राहीहरु मारमा परेको बताउदै वडा अध्यक्ष शर्माले सेवाग्राहीहरुले राखेका समस्याहरुको सम्बोधन गर्न वडा कार्यालयले चाहेर मात्र सम्भव नभएको भनाई राखेका थिए । सेवाग्राही तथा उपभोक्ताहरुको समस्यालाई सम्बोधन गर्न वडा कार्यालयलाई सशक्त नागरिक आवाज र साथ चाहिएको अध्यक्ष शर्माले बताएका थिए ।

पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष शर्माले उठाएका बिषयहरुमा कुनै सत्यता नभएको नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख अभिशेकराज कलुवारले बताएका छन् । सुर्खेत, दैलेख जिल्लाका ग्राहकसंग विद्युत प्राधिकरणको आत्मिय सम्बन्ध भएको र जाजरकोटका ग्राहकप्रति घृना नभएको वितरण केन्द्र प्रमुख कलुवारले टेलिफोन मार्फत भनाई राखेका छन् । कहिले काँही जंगलमा भएको आगलागि, बाढि, पहिरो जस्ता समस्याले जाजरकोटको लाईन कट्ने गरेको बताउदै वितरण केन्द्र प्रमुख कलुवारले विद्युत लाईन कट्नुको कारण विद्युत प्राधिकरण सुर्खेतको आधिकारिक फेसवुक पेजमा राख्ने गरिएको बताए ।

फाष्ट ट्रयाकबाट जाजरकोट जिल्लालाई विद्युतिकरण गर्ने योजनामा आफु लागि परेको बताउदै प्रमुख कलुवारले ८ महिनाको समयमा ३ हजार ८०० ग्राहकबाट ५ हजार ६०० ग्राहक पुर्याएको बताए । शिवालयको नेपा, वडाखेल, भेरीको ईभर, काफलचौर, रिसाङ्क, रिम्ना, नलगाडको लहँ, बाउसेखोलामा लाईन विस्तार गरिएको प्रमुख कलुवारले जानकारी दिएका थिए । जडिवुटी उद्ययन केन्द्र र स्वास्थ्य सेवा कार्यालयमा ३०० केवी क्षमताका टासफर्म जडान गर्नुको साथै संचालनमा आएको जानकारी दिदै वितरण केन्द्र प्रमुख कलुवारले भेरी नगरपालिकाले टिओडि, मिटर लगाएतका सामानहरुको शुल्क बुझाएता पनि टासफर्मको शुल्क नबुझाएको हुदा संचालनमा आउन नसकेको भनाई राखेका थिए । विद्युत प्राधिकरणले लिने ५ प्रतिशत हरजनाका बिषयमा वितरण केन्द्र प्रमुख कलुवारले नेपाल टेलिकम जस्ता संस्थाबाट प्रवाह हुने सेवाहरु शुल्क नबुझाई सेवा सुचारु नहुने गरेको बताए । उनेले सेवा लिईसकेपछि बुझाउनुपर्ने शुल्कको भाका ४० दिन कटेपछि प्राधिकरणले ५ प्रतिशत हरजना लिने गरेको भनाई राखेका थिए ।

आफु प्राविधिक क्षेत्रको मान्छे भएको हुनाले कार्यालय कुरेर बस्ने भन्दा पनि बढि फिल्डमा खट्ने गरेको जानकारी दिदै वितरण केन्द्र प्रमुख कलुवारले वडा कार्यालयको लेटरप्याडमा वडा अध्यक्षले लेखेको पत्रको बुदाँगत रुपमै जवाफ लेखेर पठाउने तर, अहिले आफु फिल्डमा भएको हुनाले वडा अध्यक्षले भनेकै समयमा पत्रको जवाफ फिर्ता गर्न नसकिएको बताए । जिल्ला भरी विद्युत लाईन विस्तार गर्न सहज वातावरण सृजना गर्नुको अलावा विभिन्न अबरोधहरु सृजना गरेर विद्युतिकरण गर्ने कामबाट जिल्लालाई रोक्न खोजिएको प्रमुख कलुवारले भनाई राखेका थिए । आफु प्रशासनिक क्षेत्रको मान्छे भए प्राविधिक काममा फिल्डमा जानु भन्दा बढि कार्यालयमा बस्ने र कागजी घोडा दौडाउथे होला प्रमुख कलुवारले भने–‘पिल्डमा छु, भनेको समयमा पत्रको जवाफ लेखेर दिन सकेको छैन, समय मिलाएर पत्रको जवाफ लेखेरै दिने छु ।’ फिल्डको काम र कतिपय प्राविधिक विषयमा विश्वास नगरेर कागजमा लेखिएको कुरालाई मात्र विश्वास गर्ने बिषयप्रति आफु दुखि हुने गरेको भनाई राख्दै वितरण केन्द्र प्रमुख कलुवारले भने–‘वडा अध्यक्ष ज्युले गरेको पत्रकार सम्मेलन र उहाँले उठाउनु भएका बिषयलाई फेसवुक लाईभ हेरेर बुझेको छु, अध्यक्ष ज्युले भने जस्तै कुरा गर्न जति सजिलो छ, त्यति फिल्डमा काम गर्न सजिलो छैन, उहाँले पनि केहि महिना पहिला भेरी नगरपालिकामा २ वडा नगर बस संचालनमा ल्याउने भन्नु भएको हैन र ?, खै त अहिलेसम्म नगर बस संचालनमा आउन सकेको ? कुरा गर्ने र काम गरेर देखाउने कुरा फरक विषय हुन ।’


Tagged
प्रतिकृया दिनुहोस्