Hamro Sanchar

बस्ने बास र खाने गाँसको अभावमा छट्पटाई रहेका महर परिवारलाई अध्यक्ष गिरीले वितरण गरे राहत

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/४/१ गते
जाजरकोट

गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा आफुलाई क्रियाशिल बनाउदै आएका बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीका गाउँपालिका भित्रको गरिबीलाई न्युनिकरण गर्नु, आम नागरिकहलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु, पालिका भित्रको भौतिक पूर्वाधार विकासका क्षेत्रमा विद्युतिय गति पैदा गर्नुको साथै व्यवस्थित तरिकाले विपद व्यवस्थापन सम्बन्धिको प्रतिकार्य योजना निर्माण गर्नु र त्यसको कार्यान्वयन गर्नुपर्ने अगाडी देखिएका चुनौति हुन् । यति मात्र नभएर अध्यक्ष गिरीलाई यतिवेला चरम गरिवीले बस्ने बास र खाने गाँस नपाएर छट्पटाई रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहित राहत विरण गर्नु गर्नुको साथै बस्ने बासको बन्दोबस्ती गर्नुपर्ने बाध्यता खट्किएको छ ।

कमैलाई विश्वास नलाग्न सक्छ, बारेकोट गाउँपालिका–४ मैनाको जुम्कका मुनबहादुर महरको सपरिवार बस्ने बास, खाने गाँस र लगाउने कपडाको अभावमा छट्पाई रहेको छ भनेर । सनिबार न्युज पोर्टल हाम्रो पहुँच डटकमले ‘गरिवका दर्दः नेता ज्यु घर चुहिन्छ, जिउ ढाक्ने कपडा छैन, जिउ धान्न मुठी चामल कहाँबाट ल्याऊ ?’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पढेपछि अध्यक्ष गिरीको मुटुमा आलपिन रोपे जस्तै चसक्क घोचेको थियो । पत्रकारिता क्षेत्रमा हाई प्रोफाईल बनाई सकेका अध्यक्ष गिरी दैनिक प्रकाशित समाचारहरुप्रति निक्कै सम्वेदनशिल छन् । प्रकाशित समाचारलाई पढिसकेपछि अध्यक्ष गिरीले मुनबहादुरको घरको अबस्था बुझ्नालाई सम्बन्धित वडाअध्यक्ष र सचिवलाई फोन गरेर बुझेका थिए । सम्बन्धित वडाका वडाअध्यक्ष बिष्णु बहादुर रावतले गाउँपालिकाका अध्यक्ष गिरीलाई टेलिफोनमै मुन बहादुरको परिवारको कथा सविस्तार सुनाएका थिए ।

वडाअध्यक्ष रावत मार्फत मुन बहादुरको परिवारको अबस्था बुझिसकेपछि आईतबार विहानै आफ्नो स्वकीय सचिव लोकेश सिंहलाई साथमा लिएर अध्यक्ष गिरी मुन बहादुरको घरमा पुगेका थिए । २ बोहरा चामल, २ वटा कम्मल, २ वटा पाल, २ किलो नुन र २ लिटर तेल मोटरसाईकलमा राखेर स्वकीय सचिव सिंहको साथमा मुन बहादुरको घरमा पुगेका अध्यक्ष गिरीले खाद्य सामाग्री सहितको राहत हस्तान्तरण मात्र गरेका थिएनन् । उनले पारिवारिक अबस्था र स्थितिकाबारेमा राम्रोसंग मुनबहादुर महरकै मुखबाट कुरा सुनेका थिए ।

मुनबहादुरको विजोकपूर्ण पारिवारिक अबस्थालाई आफ्नै आँखाले निहालेका अध्यक्ष गिरीले बर्षादको समयमा सुरक्षित स्थानमा राम्रोसंग पाल हालेर बस्न मुनबहादुरको परिवारलाई सुजाएका छन् । जनता आबास कार्यक्रम मार्फत मुनबहादुरको परिवारलाई घर बनाईदिने अध्यक्ष गिरीले प्रतिवद्धता व्यक्त गरेका छन् । ज्याला मजदुरी गरेर साँझ विहानको छाँक टार्दै आएको महर परिवारको बस्ने बास र खाने गाँसको व्यवस्थापन गर्न गाउँपालिका गम्भीर भएर लागिपर्ने अध्यक्ष गिरीले डिजिटल संचारसंग प्रतिक्रिया दिएका छन् ।

बर्षायामको प्रतिकुल मौसमले दैनिक ज्याला मजदुरी गर्न कठिनाई भईरहेको अबस्थामा गाउँपालिकाले दिएको खाद्य सामाग्री सहितको राहतले चुहिने छानोमनि बस्नुपर्ने अबस्थाबाट उन्मुक्ति पाएको मुन बहादुरले बताएका छन् । गाउँपालिकाले दिएको चामल, दाल, नुन, तेलले आफ्नो परिवारलाई दुई महिनासम्म खाना पुग्ने महरले विश्वास राखेका छन् ।

रोग र भोक दुवै मानव जीवनका सत्रु भएको बताउदै अध्यक्ष गिरीले संसारमा रोगले भन्दा भोकले ज्यान गुमाउनेहरुको संख्या ठुलो रहेको बताए । आजको विश्वमा रोग र भोक भन्दा बढि उपभोगले ज्यान गुमाउनेको संख्या पनि कम नरहेको चर्चा गर्दै अध्यक्ष गिरीले आबश्यकता भन्दा बढि उपभोगका कारण मान्छेले ज्यान गुमाईरहेको अबस्थामा बारेकोटमा भने, खान नपाएर भोकले छट्पटाई रहनुपर्ने अबस्था भएकोमा दुःख व्यक्त गरेका छन् ।

मुन बहादुर महरको घरमा उनको श्रीमति, एक छोरा र एक छोरी गरी चार जनाको परिवार रहेको छ । छोरा छोरी विद्यालय जाने उमेर समुहका भएता पनि गरिवीका कारण उनले स्कुलमा भर्ना गर्न सकेका छैनन् । उनको पारिवारले हाल खेप्नु परिरहेको सास्तीका विषयमा समाचार प्रकाशित भएपछि गाउँपालिकाका अध्यक्ष गिरी खाद्य सामाग्री सहित राहत सामाग्री आफैले बोकेर उनको घरमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्