Hamro Sanchar

नगर समन्वय समितिको निर्णयप्रति असहमति जनाउदै वडा अध्यक्ष शर्माद्धारा पत्रकार सम्मेलन

पत्रकार सम्मेलन मार्फत अध्यक्ष शर्माको असहमतिप्रति नगरप्रमुख घर्तीको खण्डन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/२१ गते
जाजरकोट

भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले नगर समन्वय समिति (MCC) ले लिएका निर्णयहरुप्रति असहमति जनाउदै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । विधि र पद्धति भन्दा बाहिर गएर नगर समन्वय समितिले लिएका निर्णयप्रति असहमति रहेको जनाउदै अध्यक्ष शर्माले मंगलबार पत्रकार सम्मेलन गरेका थिए ।

बिश्व बैंकको ऋण सहयोगमा संचालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगतका योजना छनौट र बजेट विनियोजनमा नगर समन्वय समितिले विधि भन्दा बाहिर गएर निर्णय गरेको अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा आरोप लगाएका थिए । वडा स्तरीय समन्वय समिति (WCC) को बैठकले कछनौट गरेका योजनाहरु नभएर नेपाल सहरी शासकीय तथा पूर्वाधार कार्यक्रमको नगर स्तरीय समन्वय समितिले फरक योजनाहरु पास गरेको भनाई राखेका थिए । भेरी नगरपालिकाको वडा नं. ४ को असोज ९ गते बसेको वडा स्तरीय समन्वय समितिको बैठकका निर्णयबाट छनौट गरिएका योजना नभएर यही मंसिर १९ गते बसेको नगर स्तरीय समन्वय समितिको बैठकले फरक योजनाहरु छनौट तथा पास गरेको अध्यक्ष शर्माले भनाई राखेका थिए । अध्यक्ष शर्माकानुसार ४ नम्बर वडाको वडा स्तरीय समन्वय समितिले २०–२० लाख लागतका भेलाले मुल सडकदेखि जाजरकोट दरबारसम्म जाने पद मार्ग र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयदेखि जित बहादुर शाहको घर हुदै सिमलको रुखसम्मको पदमार्गलाई छनौट गरी पास गर्न नगर स्तरीय समन्वय समितिमा सिफारिस गरेको भनाई राखेका थिए ।

भेरी नगरपालिकामा विगत ३ बर्षदेखि उक्त नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना संचालनमा रहेको जानकारी दिदै नगरप्रमुख चन्द्रप्रकाश घर्तीले वडा स्तरीय समन्वय समितिले छनौट गरेका आयोजनाहरुलाई नगर स्तरीय समितिसंग काँट्छाँट गर्ने अधिकार रहेको बताए । ४ नम्बर वडा स्तरीय समन्वय समितिले २ वटा योजना छनौट गरेकोमा नगर स्तरीय समन्वय समितिले ४ वटा योजना छनौट गरेको प्रमुख घर्तीले जानकारी दिएका थिए ।

नगरपालिका भनेको तीन तहका सरकार मध्येको एक तहको सरकार भएको बताउदै प्रमुख घर्तीले वडा भनेको सरकार नभएर समिति भएको बताएका थिए । नगरपालिका भनेको वडा स्तरका गुनासोहरु सुन्ने, गुनासो सम्बोधन गर्ने निकाय भएको बताउदै प्रमुख घर्तीले वडा समिति भनेको नगर सरकारले लिएका निर्णयहरुलाई कार्यान्वयन गर्ने ईकाइ भएको बताए ।

योजना छनौट गर्दा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाको कार्यविधिले २० लाख भन्दा माथि र ५ लाख भन्दा तलको बजेट राख्न नपाईने प्रावधान रहेको प्रमुख घर्तीले जानकारी दिएका थिए । आयोजनाको कुल बजेटबाट ४४ प्रतिशत बजेट निर्माण सामाग्री खरिदमा, ६ प्रतिशत बजेट सुरक्षा सामाग्री खरिदमा र ५० प्रतिशत बजेट मजदुर ज्यालामा खर्च गर्नुपर्ने कार्यविधिमा प्रावधान रहेको प्रमुख घर्तीले जानकारी दिएका थिए । १९ गते सम्पन्न नगर स्तरीय समन्वय समितिको बैठकले ४ करोड ९ लाख ४४ हजार लागतमा ४१ वटा योजनाहरु छनौट गरेको छ ।

प्रतिकृया दिनुहोस्