News Portal

रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

४५४ पटक

जाजरकोट
भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ ।

यही जेठ ७ गतेदेखि २० गतेसम्म संचालन गरिने रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को तयारी अन्तिम चरणमा पुगेको सह–आयोजक समिति तथा त्रिवेणी युवा क्लव भेरी नगरपालिका–१ जाजरकोट अध्यक्ष निरज रानाले जानकारी दिए । महोत्सवको प्रचार–प्रसार, महोत्सवका अतिथि कलाकारलाई निमन्त्रणा, फिल्ड व्यवस्थापन तथा घेराबार, स्टल, टेन्ट, मञ्च निर्माण, साउण्ड सिस्टमको व्यवस्थापन लगाएतका कामहरु अन्तिम चरणमा पुगेको अध्यक्ष रानाले बताएका छन् ।

“जाजरकोट समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र हाम्रो उद्योग व्यापार !” भन्ने मुल नारा सहित आयोजित महोत्सव १३ दिनसम्म संचालन गरिने कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष डिल्ली परियारले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष परियारले जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नुको साथै स्थानीय कला, संस्कृतिको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको बताए ।

जाजरकोट र रुकुमपश्चिमका नागरिकहरुलाई गत कातिक १७ गते मध्ये राति गएको भुकम्पको पीडा र शोकलाइ विर्साउन महोत्सवले मनोरञ्जन दिएर खुशी बनाउनुको साथै आशा जगाउन मद्दत पुग्नेमा अध्यक्ष परियारले विश्वास व्यक्त गरेका थिए ।

जाजरकोट र रुकुमपश्चिमको सिमानामा रहेको रिम्ना मनोरम पर्यटकीय स्थल हो । श्रदालु भक्तजनहरुका लागि रिम्नालाई तिर्थ स्थलका रुपमा लिने गरिएको छ । उक्त महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने, स्थानीय उत्पादन तथा कृषि उपजहरुको बजारीकरणमा सहयोग गर्ने अध्यक्ष परियारले बताए ।

महोत्सवमा स्थानीय मयुर, सिंगारु, पैसेरु, पापीनि, सोरठी नाँच, पञ्चेबाजा लगायतका झाँकीहरु प्रदर्शनी गरिने आयोजक समितिले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन तथा कृषिउपजहरु (दहि, महि, घिऊ, मह, सिस्नो, मकैको रोटी, कोदो, माछा, डोको, नाम्लो) लगायतका फरक–फरक स्टलहरु राखेर विक्री वितरण गर्नुको साथै अवलोकन गराईने बताइएको छ ।

ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक परिवर्तित रूपमा साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले बताएको छ । जाजरकोट सहित रुकुमपश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, डोल्पा, दाङ्ग, प्युठान लगायतका जिल्लाबाट एक लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

प्रतिकृया दिनुहोस्