Hamro Sanchar

नलगाड नगरपालिका नीति तथा कार्यक्रमको प्राथमिकतामा, स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ

५९ करोड १७ लाखको बजेट प्रस्तुत

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/३/१४ गते
जाजरकोट

नलगाड नगरपालिकाको १० औं नगर सभा शुक्रबार देखि सुरु भएको छ । १० औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ, ग्रामिण अल्ट्रा साउण्ड कार्यक्रम, शैक्षिक गुणस्तर करार सम्झौता जस्ता बिषयहरु प्राथमिकतामा परेका छन् ।

१० औं नगर सभामा नलगाड नगर पालिकाका प्रमुख तथा सभाका अध्यक्ष डम्बर बहादुर रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास तर्फ “अर्गानिक खेतीमा जोड, नलगाडको अठोट ।” भन्ने नारालाई साकार रुप दिन “नलगाड कृषि विकास विशेष कार्यक्रम” संचालन गर्ने बताईएको छ ।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने, आकस्मिक कोषमा आबश्यक बजेटको व्यवस्थापन गर्ने, ग्रामिण अल्ट्रा साउण्ड कार्यक्रम संचालन गर्ने, पूर्ण संस्थागत (गर्भवती) सुत्केरी नगरपालिका घोषणा गर्ने उल्लेख गरिएको नीति तथा कार्यक्रममा विद्यालय स्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने, शिक्षण सिकाई उपलब्धीलाई सुधार गर्न विषयगत शिक्षक तालिम संचालन गर्ने, अपाङ्ग बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न विशेष स्रोत कक्षा कार्यक्रमलाई निरन्तरता दिने, स्थानीय पाठ्यक्रम निर्माण गर्ने, स्थानीय पाठ्यक्रमको जानकारी प्रदान गर्न पाठ्यक्रम प्रवोधिकरण तालिम संचालन गर्ने, चौमासिक रुपमा घुम्ती प्राधानाध्यापक बैठकको आयोजना गर्ने, शैक्षिक गुणस्तर करार सम्झौता गर्ने, आबासिय नमुना विद्यालय विकास कार्यक्रम लागु गर्ने, हाम्रो शैक्षिक दृष्टीकोण स्माकिा प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगर प्रमुख खेलकुद प्रतियोगिता संचालन गर्ने, दिवा खाजा व्यवस्थापन समिति र विद्यालय सहयोगीहरुको क्षमता विकास गर्न दुई दिने कार्यशाला गोष्ठी संचालन गर्ने, सबैभन्दा उत्कृष्ट र कमजोर विद्यालय बीच अनुभव आदान प्रदान गर्न सरोकारवालाहरुको संयुक्त अनुगमन भ्रमण गर्ने उल्लेख गरिएको छ ।

बाल कल्याण कोष स्थापना गनेृ, “स्वच्छ सफा र सुन्दर शहर, नलगाडबासीको रहर ।” भन्ने नारालाई कार्यान्वयन गर्न “फोहर बाट मोहर ।” बनाउने नीतिलाई अबलम्बन गर्ने, लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने, भौतिक पूर्वाधार संरचना, यातायातका साधनहरु र सेवा सुविधालाई अपाङ्गमैत्री बनाउनुको साथै शिक्षण सिकाई पद्धतीलाई अपाङ्गमैत्री बनाउने, द्धन्द प्रभावित परिवार र द्धन्द्धका कारण विभिन्न प्रकारका अपांगता भएका ब्यक्तिहरुको नाम सुचिकृत गरी आवश्यक ब्यवस्थापन गर्ने, जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई सम्बन्धित वडाबाटै वितरण गरिने, सिमान्तकृत, दलित, लोपोन्मुख, अति विपन्न नागरिकका लागि जनता आवास कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सवै वडाहरुका सडक सञ्जालको पहुच सुनिश्चित गरिने, राष्ट्रिय विद्युत प्रशासरण लाईनलाई सवै वडाहरुमा विस्तार गर्ने, आम नागरिकमा डिजिटल साक्षरता बढाउन निजी क्षेत्रसँगको सहकार्यमा तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, मोवाईल तथा ईन्टरनेट सेवाको गुणस्तर सुनिश्चित गर्न नेपाल टेलीकम तथा अन्य सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्ने । सार्वजनिक स्थलमा फ्री वाईफाई सेवाको विस्तार गर्ने, अपाङ्ग पुनःस्थापना कोष स्थापना गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमसंग म्याचिंग गरेर नगर प्रमुख रोजगार कार्यक्रम संचालन गर्ने, प्लाष्टिकका गिलास, प्लेट, बोतलको उपयोगमा प्रतिबन्ध गरी दुना, टपरी जस्ता स्थानीय वातावरणमैत्री बस्तुहरुको प्रवद्र्धन गर्ने, वातावरणमैत्री झोला, गिलास, प्लेट जस्ता सामाग्री उत्पादनलाई प्रोत्साहन गर्न उपयुक्त कार्यक्रम सञ्चालन गर्ने, प्लाष्टिकका माला उपयोगमा प्रतिवन्ध लगाई स्थानीय फुलका माला उपयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

डाँडाकाँडाहरुलाई हरियाली बनाउन कृतिम तालतलैया निर्माण गर्ने, दुर्लभ सुन गिद्ध संरक्षण गर्न सुन गिद्ध संरक्षण कार्यक्रमको ब्यवस्था गर्ने, नगरपालिकाबाट प्रवाह गरिने सेवालाई आवश्यकताका आधारमा घुम्ती सेवा प्रदान गरि जनताको घर दैलोसम्म सरल र सहज ढंगले गुणस्तरीय सेवा प्रदान गर्ने, एक गाउँ एक उत्पादनको नीतिलाई कार्यान्वयन गर्ने, पूर्ण पोषणयुक्त वडा घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्ने, जिल्ला दररेटलाई बैज्ञानिक रुपमा परिमार्जन गर्न स्थानीय दररेट तयार गर्ने, विपन्न एकल तथा विदुर पुरुष सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, नलगाड लोकसंस्कृती संरक्षण कार्यक्रम संचालन गर्ने, नलगाड साँस्कृतिक महोत्सवलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

“समृद्ध र सफा नगर, दीगो विकास र सुशासनको शहर ।” भन्ने दीर्घकालिन सोचलाई १० औं नगर सभामा प्रस्तावित गरिएको छ । पूर्व गृहमन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतद्धारा उद्घाटन गरिएको १० औं नगर सभाको उद्घाटन सत्रमा नगर उप–प्रमुख सरिता सिंहले आब २०७९÷०८० का लागि ५९ करोड १७ लाखको बजेट प्रस्तुत गरेकी थिईन् । उप–प्रमुख सिंहले प्रस्तुत गरेको बजेट भाषणमा नेपाल सरकारको शसर्त अनुदान ३२ करोड १८ लाख, समानिकरण अनुदान १० करोड ४५ लाख, राजश्व बाँडफाँडबाट ११ करोड ७१ लाख २९ हजार, कर्णाली प्रदेश सरकारको समानिकरण अनुदान १ करोड १ लाख ५८ हजार, शसर्त अनुदान ९९ लाख ५० हजार, नेपाल सरकारको विशेष अनुदान ५० लाख, गत बर्षको मौजदात रकम १ करोड २६ लाख ६३ हजार र आन्तरिक राजश्व १ करोड ५ लाखको अनुमान गरिएको छ ।

१० औं नगर सभा सफलताको शुभकामना पूर्व गृहमन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेत, नि–वर्तमान नगर प्रमुख टेक बहादुर रावल, माओवादी केन्द्रका नगर ईन्चार्ज ईन्द्र प्रसाद शर्मा, नेकपा एमालेका नेता नवराज सिंह र नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्यले मन्तव्य राखेका थिए ।

१० औं नगर सभाको औचित्य पुष्टी तथा स्वागत भाषण प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले गरेका थिए भने, कार्यक्रमको संचालन योजना शाखाका प्रमुख नारायण खत्रीले गरेका थिए ।

 

नलगाड नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ

प्रतिकृया दिनुहोस्