Hamro Sanchar

बडावनमा राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउन नगरसभामा प्रस्ताव

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/३/१५ गते
जाजरकोट

छेडागाड नगरपालिकाको बाह्रौ नगर सभा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बाह्रौ नगर सभामा छेडागाड–५ बडावनमा नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउने नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । नगर सभाको प्राथमिकतामाः– प्रशासनिक केन्द्रको टुङ्गो, बेरुजो फछर्यौट, अख्तियारमा परेका उजुरीहरुको सहजीकरण गर्न फोकल पर्सन तोक्ने, नगर प्रमुखको सेवा सुविधा कट्टी गरी बालबालिका सहायता कोष स्थापना र परिचालन, ३ वटा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याउने, मोर्कदेखि थलह बजारसम्मको सडक कालोपत्रे, गामेन्ट र बहुँमुल्य रत्नपत्थरको उद्योग संचालन, सल्लाको खोटो संकलनमा प्रतिबन्द, करेन्ट लगाएर माछा मार्ने कार्यलाई बन्द गर्ने, श्रम बैंक स्थापना गर्ने, चालु खर्चलाई घटाउने–पूजीगत खर्चलाई बढाउने, फोहरमैला सम्बन्धि सुन्य सहनशिलता नीति लिने जस्ता विषयहरु रहेका छन् ।

जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले उद्घाटन गरेको १२ औं नगर सभामा नगर प्रमुख तथा सभा अध्यक्ष रत्न बहादुर खड्काले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा नगरपालिकाको प्रशासनिक केन्द्र वडा नं. ५ को चंखिलामा टुङ्गो लगाई प्रशासनिक भवन निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्ने, गर्भवती महिलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अबस्थाको अन्त्य गर्न तीन वटा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याउने, नगर प्रहरीको व्यवस्था गर्ने, महालेखा परीक्षणको प्रतिवेदनले औल्याएको बेरुजो फछर्यौट गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरुको व्यवस्थापन तथा सहजीकरण गर्न फोकल पर्सन तोक्ने उल्लेख गरिएको छ ।

नगरपालिका स्तरीय परियोजना सल्लाहाकार समिति गठन गर्ने, वडा कार्यालयमा ई–हाजिरीको व्यवस्था गर्ने, बाख्रा पालन, बंगुर पालन, भट्टमास, आलु, लसुन, ओखर, कागति, बेमासमी तरकारी, केरा, आँप, सुन्तला, मकैको बीऊ पकेट क्षेत्र घोषणा गरी बाली बस्तुको उत्पादनमा बृद्धी गर्ने, कृषकसंग मेयर कार्यक्रम संचालन गर्ने, बाँझो, ऐलानी र प्रति जग्गामा सामुदायिक तथा नीजि खेतिपाती गर्ने व्यवस्था गर्ने, एक वडा एक बाली उत्पादन कार्यक्रम संचालन गर्ने, कृषि बाली र पशु बीमा कार्यक्रम संचालन गर्ने, राजीव विक्रम शाहद्धारा बडावनमा निर्माण गरिएको अस्पताललाई प्रक्रिया पुरा गरी नगर अस्पताललाई व्यवस्थापन गर्ने उल्लेख गरिएको नीति तथा कार्यक्रममा डिप्लोमा सम्मको प्राविधिक जनशक्ति तयार गरी विकास निर्माण र सामाजिक सेवाका लागि उत्कृष्ट विद्यार्थी छात्रवृति कार्यक्रम संचालन गर्ने, एक मावि एक प्राविधिक धार अध्ययन, अध्यापनको व्यवस्था गर्ने, स्थानीय पाठ्यक्रम निर्माण तथा लागुगरी विद्यार्थीको सिकाईलाई जीवनोपयोगी र सीपमुलक बनाउने, आरसिसी विद्यालय भवन निर्माण गर्ने, एक दिन विद्यार्थीसंग प्रहरी कार्यक्रम संचालन गर्ने, २ जना जेहेन्दार विद्यार्थीलाई एमविवीएस र ईन्जिनियरिङ्ग अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, स्नातक र स्नातकोत्तर शैक्षिक बेरोजगार युवालाई एक महिना विद्यालयमा स्वयंसेवकको रुपमा परिचालन गर्ने, युवा सुचनाकेन्द्र स्थापना गर्ने उल्लेख गरिएको छ ।

बार्षिक नीति तथा कार्यक्रममा नगरपालिकाको प्रशासनिक केन्द्रमा ग्लोबल आईएमई बैंकको काउण्टर तथा शाखा स्थापना गर्ने, ६० बर्षका एकल पूरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने, अनाथ तथा सहारा विहिन ५ देखि १५ बर्षसम्मका बालबालिकालाई पालनपोषण र पठनपाठनको लागि जीवन निर्वाह भत्ता व्यवस्था गर्ने, बाल बिबाह मुक्त वडा घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्ने, नगर प्रमुखको सेवा सुविधा कट्टी गरी अशक्त, अपाङ्ग, असहाय, गरीब, साहारा विहिन बालबालिकाको पठनपाठन र पालनपोषणको लागि बालबालिका सहायता कोष स्थापना गरी परिचालन गर्ने, सडकको स्तरउन्नती गर्ने, टीकाचौर लगाएत सवै वडालाई सडक संजालमा जोड्ने, मोर्क बजारदेखि थलह बजारसम्मको सडकलाई कालो पत्रे गर्ने, वडा कार्यालयका भवन निर्माण गर्ने, श्रम सहकारी निर्माण गरी विकास निर्माणमा जोड्ने, गार्मेन्ट र बहुमुल्य रत्नपत्थरसंग सम्बन्धित उद्योग संचालनमा ल्याउने, टिकाचौरमा होमस्टे निर्माण गरी संचालनमा ल्याउने, हाते कागज, अल्लो प्रशोधन, कागति जुस उत्पादन तथा अन्य साना घरेलु उद्योगहरु संचालन गर्ने, अतिथि सत्कार, मौलिक खाना, मौलिक संस्कृति प्रवद्र्धन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा श्रम बैंक स्थापना गर्ने, सल्लाको खोटो संकलन कार्यलाई पूर्णरुपमा बन्द गर्ने, करेन्ट लगाएर माछा मार्ने कार्यलाई निरुत्साहित गर्ने, छुवाछुत मुक्त नगरपालिका घोषणा गर्नका लागि आबश्यक योजना तर्जुमा गर्ने, नगरपालिकाले एफएम रेडियो संचालन गर्ने, चालु खर्चलाई नियन्त्रण, पूँजीगत खर्चलाई सतप्रतिशत पुर्याउनुको साथै खर्चको क्षमता बढाउदै खर्चलाई उत्पादनमुलक र पारदर्शी बनाउने, नगरपालिकाले ल्याण्डफिल साईट छनौट गरी फोहर मैला व्यवस्थापन गर्ने, फोहर उत्पादनमा न्यनिकरण, पृथकीकरण, पुनचक्रण र पुनः प्रयोग गर्ने, नदीमा फोहर मिसाउने कार्यलाई दण्डित गर्ने, फोहोरमैलाप्रति शुन्य सहनशिलताको नीति अबलम्बन गरिने उल्लेख गरिएको छ ।

छेडागाड नगर उपप्रमुख चन्द्रबहादुर थापाले छैटौं बजेट सभा तथा बाह्रौं नगरसभामा आर्थिक बर्ष २०७९।०८० को लागि ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तावित गरेका थिए । प्राय पुरानै दायित्व बोकेको बजेटले पुर्वाधार विकास, सामाजिक र आर्थिक विकासमा जोड दिएको छ । चालु आवमा ५५ लाख आन्तरिक राजश्व संकलन गरेको नगरपालिकाले आगामी बर्षको लागि ५६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिईएको छ ।

 

1 छेडागाड नगरपालिको नीति तथा कार्यक्रमको पूर्ण पाठ

 

2 छेडागाड नगरपालिको वजेट वक्तव्यको पूर्ण पाठ

 

प्रतिकृया दिनुहोस्