Hamro Sanchar

प्रदेश साँसद सिंहद्धारा नहकुली खानेपानी योजना उद्घाटन

योजनाबाट २ वडाका ६५० घरधुरी लाभाम्बित

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/६/२ गते
जाजरकोट

नलगाड नगरपालिका–२ र १ मा रहेको नहकुली खानेपानी योजनाको उद्घाटन कर्णाली प्रदेश साँसद तथा पूर्व प्रदेश मन्त्री गणेश प्रसाद सिंहले गरेका छन् । ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्व जलस्रोत, उर्जा विकास तथा खानेपानी सिंचाई मन्त्री सिंहले बिहिबार योजना उद्घाटन गरेका हुन् ।

नहकुली खानेपानी योजना निर्माण उपभोक्ता समितिले योजना उद्घाटनमा भव्य कार्यक्रमको आयोजना गरेका थियो । प्रतिकुल मौषमका बाबजुद बाजा बजाएर नाँचगान गरिएको उद्घाटन कार्यक्रममा विद्यालयको बालमैत्री धारा खोलेर पूर्वमन्त्री सिंहले खानेपानी योजना उद्घाटन गरेका थिए ।

झण्डै १४ किलोमिटरको दुरी रहेको खानेपानी योजना जनश्रमदान सहित कुल लागत ४ करोड ३७ लाख ४३ हजार ४८२ रहेको योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष टक बहादुर घर्ती (मुनाल) ले जानकारी दिएका थिए । ठेक्का र उपभोक्ता समिति गरी दुई पाटबाट निर्माण गरिएको खानेपानी योजनाको ९१ हजार ४३३ मिटर पाईप लाईन विस्तार गर्नुको साथै ९ वटा आरविटी, १६ वटा विविटी, १२६ वटा एफआरसी निर्माण गरिएको अध्यक्ष घर्तीले जानकारी दिएका थिए । ४०० घरधुरीमा मिटरबक्स जडान गरीसकेको जानकारी दिदै अध्यक्ष घर्तीले २५० घरधुरीमा मिटरबक्स जडान गर्न बाँकी रहेको बताएका थिए ।

नहकुली सागबारी, खो¥याखाली, डौर्याबारी, आब्राखोला, सिर्पाखोला, च्याङ्गेखोला, भुन्याखोला, पाल्ताखोला, व्याउलीपोल्ने छहरा, उमाल्या पानी, काललाग्या मुहान गरी झण्डै एक दर्जन मुहान्बाट केन्द्रित गरिएको हुदा उक्त खानेपानी योजनालाई एकीकृत बृहत खानेपानी खानेपानी योजनाका रुपमा बुझ्नुपर्ने अध्यक्ष घर्तीले भनाई राखेका थिए । उक्त योजनाबाट ६५० घरधुरीका ३२ सय नागरिकहरुले शुद्ध खानेपानी पिउन पाउने जानकारी जानकारी दिदै अध्यक्ष घर्तीले योजनाको निर्माण कार्यसम्पन्न गर्न स्थानीयले २० प्रतिशत अनिवाय जनश्रमदान गर्नुपर्ने भनाई राखेका थिए । उक्त योजनाको छनौट, डिपीआर, बजेट सुनिश्चितता गर्नुको साथै योजना निर्माणमा योगदान गर्ने सबैलाई अध्यक्ष घर्तीले हार्दिक आभार सहित धन्यवाद दिएका थिए ।

त्यसैगरी उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्वमन्त्री तथा प्रदेश साँसद सिंहले विगत निर्वाचनमा डाँडागाउ, चिउरीका जनताले आफुलाई मतदान गरेको ऋण खानेपानी योजनामा बजेट हालेर तिरेको भनाई राखेका थिए । ६ महिने मन्त्री कार्यकालमा मन्त्रालयले बहुँबर्षिय आयोजनाहरुमा बजेट थप गर्नुको साथै विद्युत ऐनको ड्राप्ट तयार गर्ने काम सम्पन्न गरेको भनाई राखेका थिए । नेपालको संंविधानले स्वच्छ पिउने पानीलाई मौलिक हकमा राखेको पूर्वमन्त्री सिंहले भनाई राखेका थिए । खानेपानी योजनालाई दीगो बनाउन स्थानीय जनप्रतिनीधि, समाजसेवी आम नागरिकलाई पूर्वमन्त्री सिंहले आग्रह गरेका थिए ।

जाजरकोट जिल्लामा संचालनमा रहेका खानेपानी योजनाहरुमध्ये नहकुली खानेपानी योजना ठुलो आयोजना रहेको उर्जा विकास, सिंचाई तथा खानेपानी कार्यालय, जाजरकोट प्रमुख ज्वालाराज शाहीले भनाई राखेका थिए । योजनालाई दिगो बनाउन मर्मसम्मार कोषलाई व्यवस्थित गर्नुको साथै लेखा प्रणालीलाई सुधार गर्नुपर्ने शाहीले भनाई राखेका थिए । आफ्नो जागिरे जीवनमा थुप्रै खानेपानी योजनाहरु निर्माण गरेको जानकारी दिदै कार्यालय प्रमुख शाहीले नहकुली खानेपाने योजना र सल्यान जिल्लाको एउटा योजना सबै भन्दा उत्कृष्ट योजना भएको बताएका थिए ।

त्यसैगरी नलगाड नगरपालिका पूर्वनगरप्रमुख टेक बहादुर रावल, बर्तमान नगर प्रमुख डम्बर बहादुर रावत, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य गगन बहादुर खड्का, नेपाली काँग्रेसका वडा सभापति लभ वली, वडानं. १ का वडा अध्यक्ष धर्मेन्द्र नेपाली, २ का वडा अध्यक्ष पूर्ण बहादुर खत्रीले खानेपानी योजना सम्बन्धि महत्वपूर्ण भनाई राखेका थिए । पानीको उपयोगबाटै मानव सभ्यताको सुरुवात भएको बताउदै स्वच्छ र प्रयाप्त खानेपानीबाट डाडाँगाउँ, चिउरीका नागरिकहरु आयआर्जनमा जोडिन सजिलो भएको बक्ताहरुले भनाई राखेका थिए ।

नलगाड नगरपालिका–१ को चिउरी, अनापानी, २ नम्बरको गरी, छेप्का, स्यालचौर, माझगाउँ लगाएतका गाउँहरु बाह्रै महिना खानेपानीको अभाव भईराख्ने ठाउँ हुन् । नहकुली खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात बाह्रै महिना सुक्खा भईराख्ने उक्त ठाउँका नागरिकहरुले घण्टौंको समय लगाएर गाग्रीमा पानी बोकेर पशुचौपायलाई खुवाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

प्रतिकृया दिनुहोस्